हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.२ मा बर्खायाममा भत्किएका सडक मर्मत तथा सरसफाईमा प्रभावकारी नभएको पाईएको छ ।
सडक मर्मत तथा सरसफाईको काम प्रभावकारी रुपमा नभएको स्थानीयहरुले बताएका छन् भने सामाजिक सञ्जालमा समेत काम राम्रो नभएको भन्दै विरोध जनाएका छन् ।
वडाको करिब ६४ वटा सडक मर्मत तथा सरसफाइको लागि वडा नम्बर २ कार्यालयबाट करिब ८ लाख बजेट विनियोजन गरेर काम धमाधम गरिरहेको छ । वडाका अधिकांश सडकको मर्मत प्रभावकारी ढंगबाट नभएको स्थानीयको दाबी छ ।
मर्मतको नाममा सडक हिल्लाम्मे बनाएर छाड्ने, आधा सडक मर्मत गर्ने, आधा छाड्ने र मर्मत गरिएको सडकमा समेत सवारीसाधनले सामान बोक्न सक्ने अवस्था रहेको स्थानीय प्रसान्त तामाङले बताए ।
‘न राम्रो सडक मर्मत छ, न सरसफाई नै छ, मकवानपुरगढी–२ मा सडक मर्मत र सरसफाई नाम मात्रको भयो, काम राम्रो भएन,’ उनले भने । सडक मर्मत राम्रोसंग गर्न आग्रह गर्दा वडा नम्बर २ का तरुण दलमा आवद्ध युवाहरुले धम्की समेत दिएको तामाङले दुखेसो गरे ।
जनप्रतिनिधिहरुको उपस्थितिमै सडक मर्मत तथा सरसफाईको प्रभावकारी ढंगबाट भएको वडा नम्बर २ का वडाअध्यक्ष बखान सिं पाख्रिनले दाबी गरे । बजेटको आकार अनुसार वडाका सबै सडकलाई समेटर काग गरेको उनले बताए । उनले बजेटको स्टमेट बारे आफुलाई जानकारी नभएको बताए ।