हेटौँडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ क लागि ल्याएको बजेटमाथि (आज) मङ्गलवारबाट छलफल सुरु हुने भएको छ ।
प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले आगामी आवको ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट असार १ गते टेबुल गरेका थिए । प्रदेश सभा सचिवालयका कृष्णहरि खड्काले बजेटमाथि आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा छलफल सुरु हुने जानकारी दिए ।
विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ रहेको छ । आगामी आवको बजेटमा सबैभन्दा बढी रकम भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको छ ।