काठमाडौं – उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अनुगमन गरेकै दिन यातायात कार्यालयबाट सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जनालाई प्रहरीले नियन्त्रमा लिएको छ। पाँच जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने दुई जनालाई विभिन्न कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ठूलोभर्याङ र चाबहिलबाट पाँच जना र स्वास्थ्य परीक्षण रिपोर्ट फर्जी दिने दुई जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुमाथि अनुसन्धान सुरु भएको कठमाडौं उपत्यका प्रहरी कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। उप्रधानमन्त्री श्रेष्ठले सेवाग्राहीको चाप रहने यातायात कार्यालय, एकान्तकुनामा पुगेर मंगलबार अनुगमन गरेका थिए ।