तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको स्करपियो (बा प्र ०१–००१ य १६५९) लाई विपरीत दिशाबाट आइरहेको ट्रक (ए २–०३००–१ केएच २४४८) ले ठक्कर दिएको थियो। ठक्करपछि स्करपियो सडकमै रोकिएको थियो भने ट्रक पुलको बीच भागबाट खस्दै दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा स्करपियोमा सवार चार जना सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रकलाई क्रेनको सहायताले तानेर उठाइएको छ।
दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।