मकवानपुर – मकवानपुरगढी जेसीआईको आयोजनामा मकवानपुरगढी गाउँपालिकामा फुट्सल प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आगामी भदौ १५ र १६ गते फुट्सल प्रतियोगिता हुने मकवानपुरगढी जेसीआईका अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
प्रतियोगिताको बिजेताले एक लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुनेले ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुडासैनीले बताए ।
प्रतियोगितामा देशभरबाट ३० टिमको सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगितामा नेपाल जेसीआईको सदस्यता भएका सदस्य समुहले भाग लिन पाउने छन् ।
नेपालभरका जेसीज शाखाका प्रतिनिधिहरु मकवानपुरगढीमा फुट्सल खेल्न आउनेछन् । मकवानपुरगढी गाँउपालिकालाई पर्यटन प्रबर्द्धन र खेलकुदको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पुडासैनीले बताए ।
प्रतियोगितामा ९ लाख खर्च हुने आयोजकको अनुमान छ । खर्च मकवानपुरगढी गाउँपालिका, समुह दर्ता शुल्क र सहयोगी दाताहरुमार्फत व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।