हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.२ कुडुलेका चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । हेटौंडा इन्फिल्डर्स मकवानपुरले राक्सिराङ गाउँपालिका वडा नं.२ कार्यालयसंग समन्वय गरी न्यानो कपडा वितरण गरेको हो ।
कुडुले क्षेत्रमा बसोबास गर्ने चोपाङ समुदायका करिब ८० जना महिला, पुरुष तथा बालबालिकालाई ज्याकेट, टाउजर, स्वीटर, पाइन्ट लगायतका न्यानो कपडा वितरण गरिएको हेटौंडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिए ।

शनिबार राक्सिराङ गाउँपालिका वडा नं.२ कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी जनप्रतिनिधिको उपस्थितिमा बितरण गरिएको उनले बताए । उनका अनुसार उक्त कपडा वितरणका लागि करिब एक दर्जन दाताहरुले सहयोग गरेका थिए ।
न्यानो कपडाले विपन्न चेपाङ समुदाय वृद्धवृद्धा तथा बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने वडा अध्यक्ष बुद्धराम मुक्तानले बताए । राक्सिराङ मकवानपुरको सबैभन्दा बिकट क्षेत्र मानिन्छ। चिसोको समयमा पातलो कपडा लगाएर बस्न बाध्य भएका त्यहाँका स्थानीयहरु न्यानो नयाँ कपडा पाएपछि खुशी भएका छन् ।