काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे पाँचदिने भ्रमणका लागि नेपाल आउनुहुने भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार नेपाल आउन लाग्नुभएका भारतका सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाका परमाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गर्नुहुने छ ।
विगत सात दशकदेखि नेपाल र भारतका सेनामा मानार्थ सेनापति प्रदान गर्ने परम्परा रहँदै आएको छ । दुवै देशका राष्ट्रपतिबाट एकअर्का मुलुकका सेनाप्रमुखलाई मानार्थ सेनापति दज्र्यानी चिह्न प्रदान गर्ने परम्परालाई दुवै देशले विशिष्ट र ऐतिहासिक रूपमा लिने गरेका छन् । नेपाल भ्रमणका क्रममा भारतका सेनाध्यक्ष पाण्डे सहितको टोलीले प्रधानमन्त्री एवं र क्षामन्त्री शेर बहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । यस सँगै प्रधानसेनापति शर्मा र भारतका सेनाध्यक्षबीच भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ ।