काठमाडौँ – जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आइतबार लामिछानेलाई पक्राउ अनुमति दिएको हो । अदालतले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ अनुमति दिएको छ ।
गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई पक्राउ अनुमति जारी भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा लामिछाने र जोशीविरुद्ध अदालतले अनुमति दिएको अदालत स्रोतले बतायो । स्वर्णलक्ष्मी प्रकरणमा यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जिबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति प्रहरीले लिइसकेको छ । लामिछाने र जोशी दुवै अहिले कास्की प्रहरी हिरासतमा छन् ।