हेटौंडा – बागमती प्रदेश सरकारले प्रदेशले मुख्यमन्त्री सहित सम्पूर्ण मन्त्रीपरिषदको कार्यालय, सांसद भवन सहितका कार्यालयहरु हेटौंडा उपमहानगरपालिका–१६ हटियामा निर्माण गर्ने भएको छ । मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले हेटौँडा–१६ मा ५४ बिघा क्षेत्रफलमा प्रदेशको सिंहदरबार बनाइने बताए । उनले जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि पठाइएको समेत जानकारी दिए ।
संघीय सरकार जग्गा स्वीकृत प्राप्त भएको एकहप्ताभित्र संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गरिने मुख्यमन्त्री पाण्डेले बताए । उनले केही दिनभित्रै स्वीकृत प्राप्त हुने समेत विश्वास ब्यक्त गरे ।
उनले मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरू, प्रदेशसभा भवन, प्रदेश लोकसेवा आयोग, सांसददेखि मन्त्रीका क्वाटर, विभागहरू, प्रहरी विटसहितको संरचना निर्माण हुने बताए । प्रादेशिक संरचना निर्माणका लागि चालु आर्थिक वर्षमा १ अर्ब ५ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए ।