मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपाल र नेपालीलाई विशिष्ट पहिचान दिलाउने पर्वहरु मध्ये फागु एक महत्वपूर्ण चाड भएको बताएका छन् ।
आइतबार (आज) पहाडी तथा हिमाली एवं सोमबार ९भोलि० भित्री मधेस र तराईका जिल्लाहरुमा मनाइँदै गरिएको फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो बताएका हुन् ।
हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै प्रमुख शर्माले विविधतायुक्त देशमा हाम्रा चाडपर्व एवं संस्कृतिका कारण विश्वमञ्चमा हाम्रो देश नेपाल र हामी नेपालीको विशिष्ट पहिचान बनेको आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।
‘रङ्गै(रङ्गहरुको उत्सवका रुपमा मनाइने यस पर्वका सन्दर्भमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्घि, सुस्वास्थ्य, दिघार्यू एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा छ ।
आपसमा रंग दलेर प्रेम,सद्भाव एवम् सहिष्णुता अभिवृद्धि गर्दै हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउन यस पर्वले योगदान पुर्याउने प्रमुख शर्माले विश्वास लिएका छन् । समाजका कुरिती तथा कुसंस्कारलाई अन्त्य गर्दै हाम्रा यस्ता मौलिक पर्वहरुको संरक्षण र सम्बर्धन गर्नु आवश्यक भएको उनको भनाई छ ।
अनुशासित र सभ्य रुपमा होली मनाउनका लागि पनि उनले सुझाव दिएका छन् । ‘हाम्रो जीवन पनि रंगहरुजस्तै रंगीन, रमणीय र उल्लासमय बनोस् ।’ प्रमुख शर्माले होलीको अवसरमा कामना गरेका छन् ।