प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका शिक्षक बोम्जनमाथि गोली प्रहार गरेको आरोपमा एक पक्राउ

२०८१ कार्तिक २८, बुधबार २०:५० बजे

हेटौंडा – मकवानपुरका शिक्षक प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो ।

उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले बताए ।

गत आइतबार दिउँसो साढे २ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा बोम्जनमाथि गोली प्रहार भएको थियो ।

गालामा गोली लागेका बोम्जनको हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा तीन जनाको संलग्नता रहेको शिक्षकको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा ठाकुरलाई पक्राउ गरेको हो ।