काठमाडौं – पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । घटनास्थलै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ।पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप मंगलबार दुर्घटना हुँदा भएको थियो ।
घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीय यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षीय दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीय दिलमाया जिसी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीय गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीय विष्णुकला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा ब्याक भई दुर्घटना भएको थियो। जिप सडकबाट ३ मिटर तल अर्को सडकमा खसेको थियो।