प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नाबालिका बेचबिखन अभियोगमा खत्री पक्राउ

२०८० जेठ २, मंगलबार ०३:३२ बजे

हेटौंडा – भारतको आसाम पुर्‍याएर नाबालिका बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्री रहेकी छन् । 

प्रहरीका अनुसार काठमाडौंमा बस्ने आफन्तकोमा जान्छु भनेर नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिकालाई बसमा सँगै रहेका पुरूषले खानेकुरा तथा पानीमा बेहोस हुने औषधी मिसावट खुवाएर भारत आसामको कछर सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्याएका थिए । कोठीमा पुर्‍याएर बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाएको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिकाको उद्दार गरिएको थियो ।

थप अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उक्त कार्यमा संलग्न एलिना खत्रीलाई झापाबाट आइतबार पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिएर प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।