प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कवाडी गोदाम आगालागीमा थप एक जनाको मृत्यु

२०८० मंसिर २१, बिहीबार १३:०४ बजे

विराटनगर – विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो । बिहीबार बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा थप १ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

काठमाडौँमा मृत्यु हुनेमा विराटनगर ६ की सुनिता कामत रहेकी छिन् । उनको उपचारको क्रममा राती मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका उनी सहित विराटनगर–६ की ६० वर्षीया रीता सरदार, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको थियो ।

विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परी हिँजो विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको न्युरो अस्पतालमा र विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको घटनास्थलमै मृत्यु भएको थियो ।