हेटौंडा – पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि २९ गतेसम्म हुने भएको छ । खेलकुद विकास समिति बकैया गाउँपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
बकैया गाउँपालिका–३ स्थित बकैया रंगशालामा आयोजना हुने प्रतियोगितामा पालिकाको १२ वटा वडा सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्ने खेलकुद विकास समिति बकैयाका अध्यक्ष विजय लामाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा बकैया–३ र बकैया–६ ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुष २९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लामाले बताए ।
त्यस्तै प्रतियोगितामा सर्वोउत्कृष्ट र विधागत उत्कृष्ट हुने खेलाडीलाई नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको अध्यक्ष लामाले जानकारी दिए ।