मकवानपुर – अविरल बर्षाको कारण आएको बाढी र पहिरोका कारण हेटौंडा र काठमाडौं जोड्ने लामो तथा छोटा दुरीका सबै सडकहरू आज पनि अवरुद्ध रहेको छ ।
हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ, कान्तिलोकपथ,भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ र कुलेखानी–मातातीर्थ काठमाडौँ बाढीपहिरोको कारण आवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका–१२ घट्टेपाखा, वडा नं.११ लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका– ८ स्थित बागमती नदीको पुल कटान गरी सडक पुर्ण रुपमा अबरोध भएको हो ।
दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका वडा नं.३ रामचन्द्र भञ्याङमा पहिरो खसेर र ईन्द्रशरोवर–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी बाटो पुर्ण रुपमा अवरोध भएको छ ।
त्यस्तै त्रिभुवन लोकपथ अन्तर्गत थाहा नगरपालिका वडा नं.५ दामनस्थित पहिरोको कारण बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर–१ सिम्लाङस्थित पहिरोको कारण बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
हेटौंडा–भिमफेदी–कुलेखानी काठमाण्डौ सडकखण्डको भिमफेदी गाउँपालिका वडा नं. ४ रातोमाटे, भिमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर बाटो पुर्ण रुपमा अवरोध भएको छ । फाखेल–हुमाने, चखेल–मातातिर्थ–सतुङगल सडक खण्डको बिभिन्न स्थानमा पहिरो खसी बाटो अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुर क्षेत्रमा कुनै पनि स्थानमा अवरोध नरहेको प्रहरीको भनाई छ । प्रतिकुल मौसमका कारण पहिरो पन्छाउन कठिनाई भइरहेको बताईएको छ । त्यसको लागि स्थानीय तह र सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।