प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा हुने ध्वनी प्रदुषण नियन्त्रण गर्न प्रशासनसंग माग

२०८० मंसिर २४, आईतबार १९:२० बजे

हेटौंडा – जनसरोकार केन्द्र मकवानपुरले जिल्ला हुने ध्वनी प्रदुषण नियन्त्रण गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । जनसरोकार केन्द्र मकवानपुरका संयोजक धुर्ब प्रसाद चौलागाईको नेतृत्वको टोली आइतबार प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई ध्यानाकषर्णपत्र बुझाएका हुन् ।

मानिसको श्रवण शक्ती राम्रो बनाउन र मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन बातावरणमा हुने सबै खाले प्रदुषण नियन्त्रण गर्न ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला अधिकारी सेडाईलाई आग्रह गरिएको छ । नागरिक समाज राजनैतिक पार्टी स्थानीय तह र धार्मीक संघसंगठन राज्यका निकायलाई पनि सोही पत्रमार्फत ध्यानाकषर्ण गराएको छ ।

सडकमा गुड्ने सवारीसाधन, कलकारखाना, खुल्ला रुपमा गरिने माइकिङ्गले अत्याधिक ध्वनी प्रदुषण गर्नेलाई तत्काल नियन्त्रण गर्नु पर्ने केन्द्रको माग छ । त्यस्तै विभिन्न धर्माबलम्बीहरुको मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिदसंगै होटल, पाटी प्यालेस लगायत स्थानबाट निस्कने ध्यनीलाई व्यवस्थित गर्नु पर्ने माग जनसरोकार केन्द्रले राखेको छ । 

जनसरोकार केन्द्रले ध्वनी प्रदुषणका समस्याको जानकारी गराउँदै नियन्त्रण र व्यवस्थित गर्न ७ बुँदे सुझाव समेत दिएको छ । यस्ता छन् समस्या र समाधनका केही उपायहरु
१. सवारी साधनमा वजाईने हर्नले उच्च ध्वनी प्रदुषण भईरहेकोले पुर्ण रुपमा निषेध गर्न सबैले आआफ्नो ठाउँवाट पहल गर्ने
२. बिभिन्न धर्माबलम्बीहरुले आफनो मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिदहरुमा प्रयोग भईरहेका माईक, स्पिकर जस्ता उच्च ध्वनी आउने साधनहरुले स्वास्थ्यमा गम्भिर समस्या गराएकोले साउण्ड प्रुफ गरी सम्बन्धित स्थानमा मात्रै वज्ने व्यवस्था गर्ने र यसरी साउण्ड प्रुफ गरी वजाउँदा छिमेकमा रहेका जेष्ठ नागरिक ,बालबालिका र छिमेकीको संबैधानिक एवं नागरिक हक अधिकारमा प्रत्यक्ष अशर नपुग्ने गरी वजाउने यदी छिमेकीहरुवाट गुनासो आएमा सम्बन्धित निकायवाट सुनवाई गरी उचित व्यवस्था गर्ने
३. सिन्केधुप बाँसको सिन्कावाट बन्ने र धुपमा वारुदको मिश्रणसमेत हुनेहुदा मानिसको फोक्सोजस्ता संबेदनशिल अंगमा प्रत्यक्ष अशरपरि रहेको छ त्यसैले मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिदमा प्रयोग गर्ने सिन्के धुपलाई निषेध गरी स्वास्थ्यमा प्रतिकुल अशर नपर्ने धुपहरु स्थानीय प्रशासनवाट स्वीकृत भएको मात्रै प्रयोग गर्ने ।
४. बिद्यालय, कलेजहरुमा स्पिकर , माईक राखेर खुला रुपमा बिभिन्न कार्यक्रम गर्दा ध्वनी प्रदुषण भई रहेकाले बिद्यालय, कलेजहरुले साउण्ड प्रुफ हलमा मात्रै कार्यक्रम गर्ने ।
५. पार्टीप्यालेस, होटलहरुमा स्पिकर र माईकमा बिभिन्न म्युजीकहरु वजाउँदा ध्वनी प्रदुषण भईरहेकोले पार्टीप्यालेस, होटलहरुमा साउण्ड प्रुफ हलमा मात्रै कार्यक्रम गर्ने ।
६. बस्तीमा प्रत्यक्ष अशर पर्नेगरी क्रशर उद्योगहरु संचालन गर्दा ध्वनी एवं धुलोका कारण प्रदुशन भईरहेकाले यसलाई सम्बन्धित निकायले अनुगमन गरी ध्वनी एवं धुलो नियन्त्रणमा कडाई गर्ने ।
७. हेटौँडाको तीन ठाँउमा रहेका सिमेन्ट उद्योगहरुवाट निस्कने धुलो र धुवाले हेटौडामा वातावरणिय प्रदुषण भईरहेको र भविस्यमा यो अत्यन्तै जटील वातवरणीय प्रदुषणको कारक वन्ने निश्चित भएकोले सिमेन्ट उद्योगहरुलाई धुलो एवं धुँवा नियन्त्रणको लागि कानून बमोमिको व्यवस्था गर्न निरन्तर अनुगमन गर्ने ।
यी माथिका कुराहरु आम नागरिकको प्रत्यक्ष सरोकारको बिषयहरु भएपनि नियन्त्रण गर्ने स्रोत साधनको अभावको कारण नियन्त्रण गर्न कठीनाई भइरहेको पाईएकोले यस सम्बन्धमा सबैले ध्यान दिनु आवश्यक छ ।
बिभिन्न धर्मालम्बीहरुले परम्परागत रुपमा मन्दिरमा वजाईने घण्टी, शंख नबजाई माईक, स्पिकर वजाएर न कुनै धर्म प्राप्त हुन्छ न कुनै फाईदा यस्ता ध्वनी प्रदुषण हुने कार्यगर्दा अन्य व्यक्तीमा पर्ने असरले उल्टै श्राप लाग्ने भएकोले सबै धर्मालम्बीहरुले आफ्नो र आफ्ना छरछिमेक अनि समाजमा रहेका एकअर्का धर्मालम्बीहरुको भावनाको कदर गर्दै एक अर्काले अबलम्बन गरेको धर्म र धार्मीक कार्यले अर्को समुदायलाई असर नपुग्ने गरी कार्य गर्नू आवश्यक र राम्रो काम पनि हुने भएकोले यसतर्फ सबै मिलेर सहकार्य गर्ने वातावरण श्रृजना गर्न स्थानीय प्रशासन लागयत सबैको ध्यानकर्षण गराएका छौँ । यसतर्फ जिल्ला प्रशासन कार्यालयले उचित पहल गरी सबै सरोकारवालाहरुसंग परामर्श गरी सहकार्य गर्न समेत यसै ध्यानाकर्षपत्र मार्फत अनुरोध गर्दछौ ।