प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आठौँ राष्ट्रिय भेट्रान्स कप: पहिलो दिन चार खेल सम्पन्न

२०७९ पौष १९, मंगलबार १५:१७ बजे

हेटौंडा – हेटौंडामा आठौँ संस्करणको राष्ट्रिय भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा भएको प्रतियोगितामा पहिलो दिन चार खेल सम्पन्न भएका छन् ।

प्रतियोगितामा सिमरा, जोरपाटी, हेटौँडा ‘ए’ र एबिसी भेट्रान्स पोखराले विजयी सुरुवात गरेका छन् । मंगलबार भएको पहिलो खेलमा हेटौंडाको पशुपति भेट्रान्सलाई सिमराले २–१ गोलले, दोस्रो खेलमा पूर्वी चितवन भेट्रान्सलाई जोरपाटी भेट्रान्सले ५–० गोलले हराएको हो ।

त्यस्तै तेस्रो खेलमा गोर्खा भेट्रान्स सर्लाहीलाई हेटौँडा भेट्रान्स ‘ए’ले १–० गोल र अन्तिम खेलमा चितवन भेट्रान्सलाई एबिसी भेट्रान्स पोखराले टाइब्रेकरमा हराउँदै एबिसी भेट्रान्स पोखरा विजयी भएको हो । चितवन र पोखराबीच निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, प्रशिक्षक र विधागत उत्कृष्ट हुने खेलाडी नगद ५–५ हजार प्राप्त गर्नेछन् ।