प्रहर खबर
 २०८१ जेठ ८, मंगलबार    

नक्कली नेपाली नोट सहित ५ जना मकवानपुर प्रहरीको फन्दामा

२०८१ बैशाख २८, शुक्रबार २१:११ बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.९ बाट नक्कली नोट सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–९ का १८ वर्षीय सीताराम थिङ, हेटौँडा उमहानगरपालिका–१४ का ३७ वर्षीय सुनील ढुंगाना, १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी गाउँपालिका–४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याल रहेका छन् ।

उनीहरुको साथबाट एक हजार दरको नक्कली नोट ५५ पचपन्न हजार बरामद गरिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले थिङको साथबाट नेपाली रु १००० दरको १२००० (बाह्र हजार) नक्कली बरामद गरेको थियो ।

थिङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप चार जनाबाट ४३ हजार बरामद भएको हो । सुनिल ढुङगानाको डेराकोठामा खानतलासी गर्दा एक हजारका दरको नक्कली नेपाली नोट ४२ थान र उनको छोरा बर्ष १८ को रोजल ढुङगानाको साथबाट थप एक थान एक हजारको नक्कली नेपाली नोट फेला परेको प्रवक्ता भण्डारीले बताए ।

उनका अनुसार थप अनुसन्धान गर्दा नक्कली नोट कारोबारमा कार्यमा मराज थोकर र रामेश्वर अर्याल समेत संलग्न रहेको खुल्न आएपछि नियन्त्रणमा लिईएको हो । उक्त घटनामा संलग्न ५ जनालाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।