प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७९ आश्विन १५, शनिबार १३:५३ बजे

हेटौंडा – मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय उद्घाटन् गरिएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मुल गेट भित्र रहेको जिल्ला समन्वय समितिको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर आज उद्घाटन् गरिएको हो ।

२०७२ सालको भूकम्पका कारण भत्काउनुपर्ने सूचीमा रहेको भवनमा मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा स्थापना गरिएको छ । तत्कालीन समयमा उक्त भवन भत्काउनुपर्ने सूचीमा परेपछि रातो स्टिकर टाँसिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेलेसंयुक्त रुपमा कार्यालय उद्घाटन गर्नु भएको हो । मुख्य निर्वाचन अधिृकत ऋषिराम निरौलाले बोर्ड राखेर कार्यालय स्थापना भएर अब काम सुरु गर्ने बताउनुभयो । निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको दुईवटा र प्रदेश सभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।३ लाख ७ ३३ जना कुल मतदाता संख्या रहेको मकवानपुरमा २६७ मतदान स्थल रहेका छन् भने ३६४ वटा मतदान केन्द्रहरु तोकिएको छ । जसमा निर्वाचन क्षेत्र नम्वर १ मा ६२ वटा मतदानस्थल, १७२ वटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नम्वर २ मा १०५ वटा मतदानस्थल र १९२ वटा मतदान केन्द्र तोकिएको छ।