प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर गोल्डकपः साविक विजेता आर्मी पहिलो खेलबाटै बाहिरियो, एपिएफ सेमिफाइनलमा

२०७९ फाल्गुन ४, बिहीबार १३:३७ बजे

हेटौंडा – लगातार दुई पटकको विजेता विभागिय टिम त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी पाँचौ स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहिबार भएको खेलमा विभागिय प्रतिद्वन्दी शसस्त्र प्रहरी बल(एपिएफ)संग पेनाल्टी सुटआउट(ट्राईब्रेकर)मा ४–२ गोल अन्तगरले पराजित भएको हो ।

आर्मी र एपिएफले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा आर्मी र एपिएफले गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन ।

पहिलो हाफमा आर्मीका दिपक गुरुङले २७ औँं मिनेट र नवयुग श्रेष्ठले ३९ औँ मिनेटमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । त्यस्तै एपिएफका मणि लामाले खेलको २८ औँ मिनेट र दिपेश धिमालले ३० औँ मिनेटमा गोल गर्ने मौका खेर फाले ।

त्यसैगरी खेलको दोस्रो हाफमा पनि दुबै टोलीले गोल गर्ने राम्रो अवसर पाए, तर बलले जाली चुमाउन सकेनन् । खेलको इन्जुरी समयमा बारमा लागेर फर्किएको बललाई आर्मीका सुधिल राईले खाली पोष्टमै गोल गर्न सकेनन् । उनको प्रहार दोस्रो बारको पोल नजिकैबाट बाहिरिएको थियो ।

पेनाल्टी सुटआउटमा एपिएफलाई जित दिलाउनका लागि गोलरक्षक राजु नगरकोटी नायक बने । उनले आर्मीका टिम क्याप्टेन नवयुग श्रेष्ठ र दिपक गुरुङको लगातार दुई पेनाल्टी प्रहार रोके ।

एपिएफका टिम क्याप्टेन नविन लामा, सुदिप सिखाकार, सनिष श्रेष्ठ र दिपेश धिमालले गोल गरे । उता आर्मीका टेक बहादुर बुढाथोकी र विकास खवासले मात्रै गोल गर्न सफल भए ।

खेलको म्यानअफ द म्याच एपिएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

संर्घषपूर्ण जितसंगै एपिएफ मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उता साविक विजेता समेत रहेको आर्मी प्रतियोगिताबाटै बाहिरिएको छ ।

अब एपिएफले आयोजक टोली मकवानपुर–११ र मनाङ मस्याङदी क्लबबीचको विजेतासंग सेमिफाइलनमा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीको खेल भोली शुक्रबार दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।

२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो ।

२०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११, २०७७ मा तेस्रो संस्करण र चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।