हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनलाई १० लाख दिने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले नेपाल प्रेस युनियनको हेटौंडामा गरिएको अधिवेशनका लागि दश लाख रुपैयाँ सहयोग गर्ने निर्णय बैठकले गरेको हो ।साथै, महिला जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७७–०७८ मा लगाएको कोटको रकम पनि भुक्तानी गर्ने निर्णय गरिएको छ ।
बैठकले हेटौंडा बजार क्षेत्रमा राजमार्ग भन्दा बाहेकका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरिएको छ । हेटौंडा बजार क्षेत्रमा राजमार्ग क्षेत्रमा अतिक्रमण भएका संरचना भने उपमहानगरले हटाउदैन । अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि ३५ दिने सूचना प्रकासन गर्ने र लगत लिनका लागि कार्यदल गठन गरेर काम सुरु गरिने मेयर मिना कुमारी लामाले बताईन् ।
बैठकले निर्वाचित पदाधिकारीले एक सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले बताए । हेटौंडा–१० बसपार्कको तरकारी बजार हेटौंडा–१ चौकिटोलमा सार्न व्यावसायी र उपमहानगरको सहकार्यमा काम गर्ने निर्णय गरिएको छ ।
यसैगरी उपमहानगरपालिकाको डम्पीङ साइट खोजी गर्ने र उपभोक्ता समितिको योजना कार्यान्वयनको लागत सहभागिता निर्धारण गर्ने निर्णय गरिएको छ । हेटौंडा–८ का रोटरी आधारभूत बिद्यालयलाई चन्द्रोदय माध्यमिक बिद्यालयमा मर्ज गर्ने निर्णय भएको अध्यक्ष मोक्तानले जानकारी दिए ।
यसैगरी हेटौंडा–९ र १० मा पोखरी पार्क निर्माण गर्नका लागि डिपिआर निर्माण गर्ने र बिभीन्न कार्यबिधि र मापदण्ड संशोधन गर्नका लागि सैद्धान्तिक सहमती गर्ने निर्णय गरिएको नगर कार्यपालिकाका सदस्य इश्वरी रसाइलीले जानकारी दिइन् ।
यसैगरी उपमहानगरपालिकाको पर्यटन समितिमा दुई जना बिज्ञ राख्ने, श्रेणी बिहीन कर्मचारीको स्तर कायम गर्ने, वडा कार्यालय र शहरी स्वास्थ्य कार्यालयका लागि घरभाडा संझौता गर्ने, बिभीन्न तहका कर्मचारीहरुको स्तरबृद्धी अनुमोदन गर्ने, नगरखेलकुद विकास समिति अध्यक्षको २०७७ सालको सेवा सुविधा लगायतका विषयमा निर्णय गरिएको रसाइलीले बताइन् ।