काठमाडौँ – काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएको छ । आइतबार काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि हातपात भएको हो ।
प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै आफूमाथि कुटपिट भएको खड्काले बताएका छन् ।
डाक्टरमाथि हातपात गरेको आरोपमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीहरुले सडकमा आएर प्रदर्शन सुरु गरेका छन् । सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको भोलिपल्टै डाक्टर कुटिएपछि फेरी सडमा आएर प्रर्दशन गरेका हुन् । शनिबार स्वास्थ्यकर्मी सुरक्षा प्रदान गर्ने र कुटपिटमा संलग्नलाई कारबाही गर्ने बारेमा सरकार र चिकित्सकबिच ६ बुँदे सहमति भएको थियो ।