प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

हेटौंडाबाट काठमाडौं जाने दुई सडकमा पहिरो

२०८० जेठ ३२, बिहीबार ०३:२२ बजे

हेटौंडा – हेटौंडा हुँदै काठमाडौं जाने कान्तिलोकपथमा पहिरोका कारण अवरुद्ध भएको छ । गएराती परेको अविरल बर्षाको कारण ललितपुरको भट्टेडाँडामा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट काठमाडौं जाने सवारी साधनहरु बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । प्रत्यक्षदर्शीका अनुसार पहिरोले सवारी समेत क्षति पुर्याएको छ ।

त्यस्तै हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ सिस्नेरीमा आज बिहान ५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता कार्कीले बताए ।

दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाएपछि सडक सञ्चालनमा आउने प्रहरीको भनाई छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कुलेखानी–सिस्नेरी–फर्पिङ र कुलेखानी–फाखेल–हुँमानेभञ्याङ सडक निर्माण भइरहेकोले बैकल्पिक सडकको रुपमा कान्तिलोकपथको प्रयोग गरिएको छ । यहाँ दैनिक हजारौँ सवारी दुई राजधानी आउने जाने गर्छन् ।