हेटौंडा – हेटौंडामा सम्पन्न स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता पाँचौ संस्करणमा सर्वोउत्कृष्ट खेलाडी मनाङ मस्याङ्दीका कप्तान गोलरक्षक दीप कार्की घोषित भएका छन् ।
प्रतियोगिताकै सर्वोउष्कृष्ट खेलाडी घोषित भएका कार्कीले रोयल इन्फिल्ड बुलेट बाइक जित्न सफल भएका छन् । नेपाली राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका दीपले खेल निरीक्षकहरुको निर्णयका आधारमा बुलेट बाइक पाएका हुन् । यसअघि तेस्रो संस्करणमा घरेलु टोलीकै अमिर श्रेष्ठ र अशोक बरालले बुलेट मोटरसाइकल पाएका थिए ।
दीपले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रर्दशन गर्दै टोलीलाई उपाधि समेत दिलाएका छन्। प्रतियोगिताको विजेता बनेको मनाङलाई फालइनलमा पु¥याउनको लागि महत्वपूर्ण योगदान गरेका थिए । यसअघि सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा दीप जितका नायक बनेका थिए । उनले दुई पेनाल्टी बनाउन सफल भएका थिए ।
उक्त बुलेट बाइक हेटौंडा स्कूल अफ म्यानेजमेण्टका सञ्चालक पुरणबहादुर जोशीले उपलब्ध गराएका हुन् । देशभरको गोल्डकप फुटबलमा प्रदान गर्दै आएको सर्वोत्कृष्ट पुरस्कारमा सबैभन्दा ठूलो पुरस्कार राशी हो ।
हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलले हराउँदै मनाङले उपाधि जितेको हो । मनाङलाई उपाधि दिलाउनको लागि रोशन राना मगरले निर्णायक गोल गरे । उनले खेलको ७८ औँ मिनेटमा गरेका थिए ।
यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योउमी र प्रशिक्षक मनाङका किरन श्रेष्ठ चुनिए । उनीहरुले जनही २५–२५ हजार हात पारे ।
उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता शेर्पाले १० लाखमा चित्त बुझाएको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा माघ २८ गते सुरु भएको प्रतियोगितामा एक विदेशी टोली सहित १२ टोलीको सहभागिता रहेको थियो ।