हेटौंडा – बाल यौन दुर्व्यवहार आरोपमा प्रहरीले कैलाश गाउँपालिका वडा नंबर ९ का वडाध्यक्ष भुवन सिं घलानलाई पक्राउ गरेको छ ।
कैलाश गाउँपालिका–९, नामटारको कालिका माविकी छात्रा लाई यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष घलानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
यहि असार १८ र १९ गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन आउँदा हेटौंडास्थित होटलमा बसेका बालिकलाई वडाध्यक्ष घलानले यौन दुर्व्यवहार गरेको भनी असार २४ गते शुक्रबार उनीहरूविरुद्ध जाहेरी परेको थियो ।
जाहेरी परेपछि जिल्ला अदालत मकवानपुरले अनुसन्धानको लागि घलानविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएसंगै प्रहरीले खोजी कार्यलाई तीब्र पारेको थियो ।
‘पक्राउ पुर्जी जारी भएपछि हामीले नियन्त्रणमा लिन सबैतिर प्रहरी परिचालन गरेका थियौँ, त्यसपछि उहाँ दिउँसो दुई बजेको समयमा आफैँ हाम्रो नियन्त्रणमा आउनु भयो, अहिले हामी घटनाको अनुसन्धान गर्दैछौँ,’ प्रवक्ता कार्कीले भने ।
आरोपित घलान गत बैशाख ३० गते स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।