हेटौंडा – मकवानपुर जिल्लाका दश वटै स्थानीय तहका ३५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
आज र भोली गरी यस जिल्लामा ३५ हजार ३२० जना बालबालिकालाई भिटामिन ‘ए’ र ३१ हजार ५३८ जना बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । यो अभियान आज र भोली मकवानपुरको दश वटै स्थानीय तहमा जारी रहने छ ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको खुवाइने जनाएको छ । आज छुटेका बालबालिकालाई भोलि खुवाइने छ ।
स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।