चितवन – चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ। चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा विश्वकर्माको निधन भएको हो ।
मंगलबार बिहान पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा ३५ वर्षका महावीर विश्वकर्मा गम्भीर घाइते भएका थिए । उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजमा बिहान साढे सात बजेतिर उनको निधन भएको हो ।
महावीर विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता थिए । उनी टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर विश्वर्मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव थिए ।
सो दुर्घटनामा माइक्रोबसका चालक २६ वर्षीय शंकर चौधरीको बायाँ खुट्टा र नाकमा चोट लागेको छ । अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।