प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

मकवानपुरका सांसद महेश बर्तौला नेकपा एमालेको सचेतक

२०७९ फाल्गुन २८, आईतबार १३:२३ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर दुईका सांसद महेश बर्तौला नेकपा एमालेको सचेतकमा चयन भएका छन् ।आइतबार बसेको संसदीय दलको बैठकले बर्तौलालाई सचेतकमा चयन गरेको हो ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका बर्तौलाले गएको प्रतिनिधिसभा निर्वाचनमा आफ्नै राजनीतिक गुरु विरोध खतिवडालाई पराजित गरेका थिए । खतिवडा पाँच दलको समर्थनमा नेकपा एकिकृत समाजवादीबाट चुनावमा होमिएका थिए ।

नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको बताईएको छ। सांसद हुनुभन्दा अघि र पछिको कार्यकुशलता हेरेर सचेतकको जिम्मेवारी दिइएको एमाले नेताहरु बताउँछन् ।

बर्तौला मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको दुई पटक २०६२ र २०६५ सभापति भएका थिए । उनी अधिवक्ता पनि हुन् । उनले बर्तौलाले २०६९ सालमा अधिवक्ताको लाइसेन्स लिएका थिए ।

उनले राजनीति शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । व्यवस्थापनमा मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका छन् ।

त्यसयता स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रीय संयोजक, विभिन्न समयमा अनेरास्ववियुको केन्द्रीय सदस्य, मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख हुँदै अनेरास्ववियुको केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्षसम्म भए । कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्ने अवसर पाएका थिए ।

त्यस्तै बैठकले प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरीलाई चयन गरेको छ । गिरी पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन् ।