काठमाडौं – कुशल मल्ल र कुशल भुर्तेलको कुशलतापूर्वक ब्याटिङ्ग गर्दा नेपाल आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टियू क्रिकेट मैदानमा मंगलबार दिउँसो भएको खेलामा नेपालले मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको हो ।
जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।

नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए ।
आसिफ शेखले २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए ।दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफले ६७ रनको साझेदारी गरेका थिए ।
रोहित पौडेल २ रनमा आउट भए । मलेसियाका अमिर अजिमले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन ।
नेपालको जितमा तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएको हो। समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा छ ।यसै समुहमा रहेको सिङ्गापुर र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । विजेता टोलीले समूह बी को उपविजेता र उपविजेता टोलीले समूह बीको विजेतासँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
