काठमाडौं – गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयलाई सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति अनुसार निज कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ । सांसद कोइरीमाथि प्रेम बहादुर विकले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए । कोइरी महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनी नेकपा एमालेका हुन् ।
'माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ ।
