प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रामेछापको रणजोर खोलामा बाढी, एक सय रोपनीभन्दा धेरै खेत बगरमा परिणत

२०८२ असार ६, शुक्रबार १८:२३ बजे

रामेछाप ।  रामेछापको मन्थली नगरपालिका–१ रणजोर खोलामा आएको बाढी खेतीयोग्य जमिनमा पस्दा एक सय रोपनीभन्दा धेरै खेत बगरमा परिणत भएको छ ।

बाढी पसेपछि मन्थलीका किसानको खेतीयोग्य जमिन पुरिएको छ । रणजोर खोलामा हिजो बेलुका लेदोसहित आएको बाढी मन्थली नगरपालिका–१ चुकाहा बिर्ताको कुलोबाट पसेर सुकाजोर खोलामा निस्किएको थियो ।

रणजोर र सुकाजोर खोलाबीचमा रहेको एक सय रोपनीभन्दा धेरै खेतीयोग्य जमिन बगरमा परिणत भएको हो । खेतमा बाढी पस्दा मकैबाली, धानको ब्याड नाश भएको छ ।

मन्थली नगरपालिका–१ का किसान रामबाबु थापाले खेतमा पाक्नै लागेको मकै, भर्खर उम्रिएको धानको ब्याड सबै सखाप भएको गुनासो गर्नुभयो ।

गएको वर्ष पनि रणजोर खोलाले धेरै किसानको खेत कटान गर्नुका साथै अन्नबालीमा नोक्शानी गरेको थियो । खोलाले खेतीयोग्य जमिन कटान गरेपछि पीडित किसान खोलामा तटबन्धको माग गरी जिल्ला विपद् व्यवस्थापन समितिसम्म पुगेका थिए ।

तर व्यवस्थापन समितिले १० वटा जाली दिएर पठाएको थियो । ‘त्यो जाली कुन ठाउँमा लगाउनु’, थापाले भन्नुभयो ।

रणजोर खोलाले कटान गर्दै जाँदा मन्थली घाटमा रहेको झोलुुङ्गे पुल र आसपासको बस्ती समेत जोखिममा रहेको छ ।