हेटौंडा – सिन्धुलीको मरिण गाउँपालिका ७ बाह्रबिसेको खेल मैदानमा जारी ‘तेस्रो माझी राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगितामा समाचार संकलन गर्न पुगेका मकवानपुका खेलपत्रकार दिक्षान्स खड्का कुटिएका छन् ।
आइतबार दिउँसोको खेल सकिएपछि नेपाल माझी उत्थान संघ, ओखलढुंगाका फुटबल खेलाडी प्रभाकर माझीले आफूमाथि कुटपिट गरेको खड्काले बताए । उनले खेलाडी माझीले खेलको प्रत्यक्ष प्रसारण (लाइभ) राम्रो नआएको भन्दै खेल सकिएपछि सिधै आएर हातपात गरेको बताए ।
उनले माझीको कुटपिट पछि आफ्नो देब्रे आँखामा समस्या आएको र स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरिएको बताउँदै अझै आँखामा समस्या रहेको समेत बताए । उनले हातपात गर्ने माझीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न माग गरेका छन् ।
यसैबीच, मिडिया नेपाल मकवानपुरले खड्कामाथि भएको कुटपिट घटनाको ध्यानाकर्षण भएको जनाएको छ । मिडिया नेपाल मकवानपुरका अध्यक्ष जिवराज बख्रेलले एक प्रेस विज्ञप्ति जारी गर्दै खेलको प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकारमाथि कुटपिट गर्ने खेलाडीमाथि छानबिन गरी तत्काल कारबाही गर्न माग गरेका छन् ।