हेटौंडा – सामरी उत्थान सेवाले दलित समुदायका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय मानवअधिकारको विषयमा अन्तरक्रियात्मक गोष्ठी गरेको छ । सेवाले फ्रेण्ड्स हेटौंडाको सहकार्यमा शुक्रबार हेटौंडास्थित होटल सामनामा मानव अधिकारकर्मी, दलित अधिकारकर्मी, पत्रकार, लैंगिक तथा यौनिक अल्पसंख्यकहरुसंग अन्तरक्रियात्मक गोष्ठी गरेको हो ।
कार्यक्रममा सामरी उत्थान सेवाकी संस्थापक संयोजक विमला गायकले दलित समुदायका लैंगिक तथा यौनिक अल्पसंख्यकहरु जातीय र लैंगिक तथा यौनिक विभेदको उत्पीडनमा परिरहेको विषयलाई सरकारले नरअन्दाज गरेको बताईन् । राज्यले बनाएको कानुन लागु गर्न नसक्दा गैरदलितबाट दलित समुदायहरु उत्पीडनमा पर्ने गरेको उनले बताईन । समयसंगै ब्यवस्था परिवर्तन भएपनि शिक्षित बर्गले ब्यवहारमा लागु नगर्दा दलित तथा लैंगिक तथा यौनिक समुदायमाथिको दृष्टिकोणमा सोचे अनुरुप सुधार हुन नसकेको धारणा ब्यक्त गरिन् ।
फ्रेण्ड् हेटौंडाकी संयोजक किरण थापाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका आन्दोलनले कानुनी रूपमा महिला र पुरुष बाहेक ‘अन्य’लाई पनि पहिचान दिएपनि समाजले अझै स्वीकार्न सकेको बताईन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई महिला तथा पुरुषलाई सरह मानवीय व्यवहार र सम्मान गर्न जरूरी छ भन्ने कुरा सरोकारवाला ब्यक्तिहरुले समाजमा अझै बुझाउन नसकेको दुखेसो ब्यक्त गरिन् । उनले ‘समाजलाई ‘एलजिबिटिआइक्यु’का विषयमा त्यति धेरै ज्ञान नहुँदा समस्या देखिएको औल्याईन् । यसबारे तीनै वटा सरकार गम्भीरता पूर्वक लागि पर्नुपर्ने उनको भनाई छ ।
सामारी उत्थान सेवाका व्यवस्थापक शिवहरी ज्ञावलीले राज्यको कानुनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई मौलिक हकबाटै बञ्चित गरेकोले आवश्यक ऐन, कानुन बनाउन आवश्यक रहेको बताए । उनले आर्थिक रुपमा सक्षम हुनका लागि आवश्यक बजेट विनियोजन गरेर आयआर्जनसंग जोड्नु पर्ने बताए । उनले राज्यको विभिन्न निकायमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउन आवश्यक रहेको धारणा पनि ब्यक्त गरे ।
कार्यक्रममा मानव अधिकारकर्मी रेखा शर्मा, मकवानपुरका दलित अधिकारकर्मी कमल विश्वकर्मा, मकवानपुरकी एमाले नेत्री रमिला सापकोटा, प्रेस चौतारी मकवानपुरकी उपाध्यक्ष सुनिता विष्ट लगायतको उपस्थिती रहेको थियो ।