प्रहर खबर
 २०८१ बैशाख ३१, सोमबार    

चलचित्र पत्रकारिता दिवसको अवसरमा पत्रकारसहित ७ जना सम्मानित

२०७९ जेठ २२, आईतबार ०६:३२ बजे

हेटौंडा – चलचित्र पत्रकारिता दिवसको अवसरमा ७ जनालाई हेटौंडामा नगद सहित सम्मान गरिएको छ । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले आइतबार एक कार्यक्रम आयोजना गरी नगद सहित ७ जनालाई सम्मान गरेको हो।

‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७७’ बाट चलचित्र पत्रकारिता संघका पुर्व अध्यक्ष बिदुर गिरी र चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन(पुष्कर लामा)लाई सम्मान गरिएको छ। दाहाललाई नगद पाँच हजार सहित सम्मानपत्र, गिरीलाई नगद १० हजार सहित सम्मानपत्र र लामालाई दोसाल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको हो ।

त्यस्तै राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७९ बाट चलचित्र पत्रकारिता संघका उपाध्यक्ष दिपज्योती थापा, चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नयाँ पत्रिका दैनिकका ब्युरो प्रमुख दीपक अधिकारी र चलचित्र कलाकर्मी सम्मान २०७८ बाट राज कटुवाललाई सम्मान गरिएको छ। अधिकारी र थापालाई नगद पाँच–पाँच हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो।

यसैगरी चलचित्र कलाकर्मी सम्मान–२०७९ बाट लेखक तथा निर्देशक शिवम अधिकारीलाई सम्मान गरिएको छ। सम्मानित सातै जनालाई प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ केन्द्रीय पुर्व अध्यक्ष विदुर गिरी, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए। कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका कार्यबहाक अध्यक्ष कपिल खड्काको अध्यक्षता भएको थियो ।