प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एउटै पालिकामा प्राविधिकको दुईटा टेप छ, सामरीको दोहन कसले छेक्छ ?

२०८० जेठ २१, आईतबार १४:२२ बजे

हेटौंडा – सामरी खोलाबाट करिब ३ करोड ५० लाख रुपैयाँमा ९७ हजार १११ घनमिटर नदिजन्य पदार्थ उत्खनन् गर्ने मकवानपुरगढी गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो ।

उत्खननकै क्रममा जेठ १२ गतेसम्म ९४ हजार ९२५ घटनमिटर उत्खनन् भएको रिपोर्ट बाहिरियो । स्रोतका अनुसार त्यो सर्बेक्षण वडाप्राविधिकको हो ।

वडाप्राविधिकपछि गाउँपालिकाका प्राविधिकले लिएको सर्बेक्षणमा उत्खनन् गर्न बाँकी देखिएको गाउँपालिकाको भनाई छ । सम्झौता भन्दाबढी उत्खनन् नभएको गाउँपालिकाको दाबी समेत छ ।

पालिकाको प्राविधिकले नाप्दा कम र वडाप्राविधिकले नाप्दा बढी कसरी आयो ? अनुसन्धानको विषय बनेको छ । कुन चाहिँ प्राविधिकको फित्ता छोटो, लामो पर्यो ? ब्यङ्ग्यात्मक प्रश्न समेत उठेको छ ।

आफुले लिएको सर्बेक्षणको जिम्मेवारी लिन तयार भएको पालिकाका प्राविधिक जिवन घिमिरेले बताएका छन् । वडा प्राविधिकले लिएको नापको आफूले जिम्मेजारी लिन नसक्ने उनको भनाई छ ।

उक्त सर्वेक्षण रिर्पोट अनुसार २ हजार १८६ घनमिटर मात्रै हुन्छ । उक्त रिर्पोट सामाजिक सञ्जालमा छताछुल्ल भएको ९ दिन वित्यो, तर पनि उत्खनन् धमाधम जारी छ । यसको चातर्फि आलोचना र विरोध भइरहेको छ ।

उत्खननको सर्बेक्षण बिवरण आइतबार साँझ सार्वजनिक गर्ने भनिएपनि अझै प्राप्त हुन सकेको छैन । यसले कतै यो काम मिलोमत्तोमा भइरहेको त छैन ? जनमानसमा प्रश्न उब्जिएको छ ।

यस बारेमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सम्झौता कार्यान्वयनको विषयमा सम्बन्धित पालिका जिम्मेवार हुने बताए ।

त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान सम्झौता कार्यान्वयन सम्बन्धित पालिका संवेदनशिल हुनुपर्ने देखिएको बताउँछन् । प्राविधिक रुपमा सर्वेक्षण गरेर उत्खनन् बढी गरेको पाईएमा ठेकेदार कम्पनीलाई कारवाही गनुपर्ने उनले बताए ।