प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

सुस्मिता हत्या प्रकरणः परिवारका चार जनालाई जन्मकैद र सासुलाई १० वर्ष जेल

२०७९ माघ ६, शुक्रबार १६:५५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ की सुस्मिता केसीको हत्यामा संलग्नलाई जन्मकैदको फैसला सुनाइएको छ । घटना भएको करिब साँढे दुई वर्षपछि सुनुवाइ गर्दै जिल्ला अदालत मकवानपुरले संलग्न परिवारका चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कार्की, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई दोषी ठहर गर्दै जनही २५ वर्षको कैद हुने फैसला गरेको हो । त्यस्तै हत्याको मतियार ठहर गरि सुस्मिताकी सासु तुलसा कुमारी थापालाई १० वर्षको जेल सजाय तोकेको छ ।

सुस्मिताको २०७७ असार १ गते राती हेटौंडा उपमहानगरपालिका ४ कर्रा स्थित घरमा विभत्स ढंगले हत्या गरिएको थियो । मृतक सुस्मिताको बुवा कृष्ण बहादुर केशीले २०७७ असार २९ गते पाँचै जना विरुद्ध मुद्दा दर्ता गराएका थिए । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउँको ससुराले पछाडीबाट लौरो जस्तो काठले हिकाएका थिए ।

सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउँकोमा निरन्तर प्रहार गरेको प्रहरी समक्ष स्वीकार गरेकी थिईन् । असार २ गते घरको भान्सामा विभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । तर ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउँने प्रयास गरेका थिए ।

सुस्मिताका श्रीमानको रुपेन्द्रको २३ असोज २०७६ मा दाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । रुपेन्द्रको दुर्घटना बीमाबापत आउने रकमका लागि परिवारका सदस्यहरुले मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरु राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीले बहस गरेका थिए ।