काठमाडौं – नेपालले आइसिसी टि–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेर पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन ।
नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् ।
नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । नेपाल विजयी हुँदा समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुग्नेछ ।