हेटौंडा – मकवानपुरबाट अनलाइनमार्फत ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने ९ जनाई पक्राउ गरेको हो ।
भारतको पटना थाना आलमगंजका २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्डका २६ वर्षीय आशिष कब्डौला, राँची झारखण्डका ३४ वर्षीय विशाल कक्कड, राँची झारखण्डका ३८ वर्षीय लोकेशकुमार दुवे, राँची झारखण्डकै २९ वर्षीय विकासकुमार सिंह, नांगलोड वेस्टी दिल्लीका २८ वर्षीय अरुण कुमार र गजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार साउन २१ गते साँझ वाग्लेको घरको पाँचौँ तलाको फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी मार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा ९ जना नै भारतीय नागरिक हुन्।
उनीहरूको साथबाट प्रहरीले कम्पनीको ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्डडिस्क १ थान, हेडफोन ४ थान, वेभ क्यामेरा १ थानलगायत सामानहरू बरामद गरेको छ । पक्राउ परेका ९ जना काम गर्ने कर्मचारी रहेको र तलब १८ हजारदेखि ५० हजार रुपैयाँ नगदमै बुझ्दै आएको प्रहरीले जनाएको छ ।
भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी २०८० फागुन १० गते हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा दर्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सिंहले आन्तरिक राजश्व कार्यालय हेटौँडाबाट मेडि असिष्ट कम्पनी देखाएर मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरेको समेत खुल्न आएको प्रहरीको भनाई छ ।
उक्त कम्पनीमा १२ जना व्यक्तिहरूलाई काममा राखेको जसमध्ये ३ जना (द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश) फरार रहेको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । भारतको राचीस्थित हेड अफिसमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको खुल्न आएको उनले बताए । सो सफ्टवेयर मार्फत टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको प्रहरी उपरीक्षक रिजालको भनाई छ ।
अनुसन्धानका क्रममा भारतको राँचीस्थित हेड अफिसमा मेन सर्भर राखी काम गर्ने गरेको उनले बताए । कम्पनीबाट हुने गरेका कुनै पनि काम–कारबाहीको डाटा नेपालमा नराखी भारतस्थित हेड अफिसको सर्भरमा राख्ने गरेको पनि खुलेको छ । जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो, सो अनुसारको कुनै पनि कार्य अहिलेसम्म नगरिएको प्रहरीको दाबी छ । सो कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको अनुसन्धानमा खुलेको उनले बताए ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरीत कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए । उनीहरूमाथि सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय माग गरी मुद्दा दर्ता गरिएको छ ।