प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको बुद्धचोकमा प्रहरीको गाडीले नियन्त्रण गुमाएपछि...

२०७९ चैत्र १५, बुधबार १६:३१ बजे

हेटौंडा – हेटौंडाको बुद्धचोकमा बुधबार साँझ प्रहरीको गाडीले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट बुद्धचोकतर्फ आउँदै गरेको प्रहरीको गाडीले ना ४९ प ११९ र बागमती प्रदेश ०३ ००५ प ३०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले प्रहरीकै गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको बताए । उनीहरुको उपचार भइरहेको प्रवक्ता कार्की बताए । घाइतेको अवस्था भने सामान्य रहेको उनको भनाई रहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार तिब्रगतीमा आएको प्रहरीको गाडीले नियन्त्रण गुमाउँदै मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने प्र ०३ ००१ झ ०१२३ नम्बरको कैदीबन्दी बोक्ने गाडी रहेको बताईएको छ । तर, पुष्टि हुन भने बाँकी रहेको छ । 

प्रहरीको गाडीले दुई ओटामा मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयहरु आक्रोशित बनेका थिए । आक्रोशित स्थानीयहरुले घटनास्थल र जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी नाराबाजी गर्दै पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् । 

घटना लुकाउने प्रयासमा प्रहरी

स्थानीयका अनुसार प्रहरी भ्यानको ठक्करबाट हेटौंडा–५, गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४५ बर्षीय मधु अर्याल घाइते भएका छन् । तर, प्रहरीले भने पुष्टि गरेको छैन । न घाइतेको नाम सार्वजनिक गरेको छ, न ठक्कर दिने सवारी नम्बर नै । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले ठक्कर दिने सवारीको नम्बर लामो रहेकोले भन्न नसकिने बताए । गाडी कहाँ छ भन्ने बारेमा पनि आफुलाई जानकारी नभएको बताए ।