हेटौंडा – मकवानपुरमा आज(आइतबार) एकैदिन तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका, बकैयाँ र मनहरी गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं.९ धापस्थित रहेको मानव सेवा आश्रममा आश्रित ४५ बर्षीय कनैया लाल गुप्ताको मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नं.१० को सडकमा बेवारिसे अवस्थामा हिडिरहेका गुप्तालाई आश्रमले उद्धार राखेको थियो । प्रहरीका अनुसार उनको आइतबार बिहान मृत्यु भएको हो । मृत्युको कारण खुलेको छैन । तर आश्रमले भने उनको काल गतिको कारण मृत्यु भएको जानकारी दिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बिषादी सेवन गरी बिरामी भएकी मनहरी गाउँपालिका–७ गोल घरस्थित बस्ने २१ बर्षीय सुस्मिता गौतमको उपचारको क्रममा मृत्यु भएको छ । उनको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी गत मंसिर २७ काठमाडौं मेडिकल कलेज लगिएकोमा आज आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–७ भृकोट बस्ने ५९ बर्षीया रत्न कुमारी राई ९एकल महिला० आफ्नै घरको भान्सा कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । काठको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।