प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सुर्तिजन्य पदार्थ नियन्त्रण अभियान सुरु, एक होटललाई दुई हजार जरिवाना

२०८० श्रावण २, मंगलबार १३:५५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले सुर्तिजन्य पदार्य बिक्री वितरण गर्ने एक होटललाई जरिवाना लगाएको छ । हेटौंडा उपमहानगरको नेतृत्वमा गरिएको अनुगमन टोलीले राजदेबी भोजनालय तथा खाजा घरलाई दुई हजार जरिवाना लगाएको हो ।

सुर्तिजन्य पदार्थको प्रतिबन्धका लागि माइकिङ गरेसँगै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्न अनुगमन थालेको हो । मंगलबार अनुगमन समितिले हेटौंडा उपमहानगरपालिका वडा नं.२ नगरपालिका रोडमा रहेका १४ वटा व्यवसायहरुको अनुगमन गरेको थियो ।

उपमहानगरको १३ औं नगरसभाको दोश्रो बैठकले नगरक्षेत्रमा सुर्तिजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णयलाई श्रावण १ गतेबाट कार्यान्वयनमा ल्याएको थियो । सोमबारबाट हेटौंडा उपमहानगरभित्र सुर्तिजन्य पदार्थ विक्री वितरण र प्रयोगमा रोक लगाए पनि आजबाट अनुगमन सुरु गरेको हो ।

बजार अनुगमन बिद्यालय, सरकारी कार्यालय, सार्वजनिक स्थल र धार्मिक स्थाल रहेका क्षेत्रका पसलहरुमा बिषेश कडाईका साथ गरिने र अन्य क्षेत्रलाई बिस्तारै नियमन थालिने उपमहानगरका उपप्रमुख, बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिका संयोजक राजेश बानियाँले जानकारी दिए ।

नियमन सार्वजनिकस्थलहरू, विद्यालय क्षेत्र , सरकारी कार्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, चौकी रहेका क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय उपमहानगरले गरेको छ । उपमहानगरको निर्देशन नमान्ने जोकोहीलाई २ हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

अनुगमन टोलीमा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु महर्जन, जिल्ला प्रशासन कार्यालयलका टिंकु श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टिका शर्मा, उपभोक्ता राष्ट्रिय हित मञ्चका अम्बिका बर्तौला, नेपाल उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख क्षितिज श्रेष्ठको सहभागिता रहेको थियो ।