प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रकम बाड्ने खतिवडा र बानियाँलाई आयोगले सोध्यो स्पष्टीकरण

२०७९ कार्तिक ६, आईतबार १३:१२ बजे

हेटौंडा – निर्वाचन आयोगले मकवानपुर क्षेत्र नं.२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा र २ (ख)का नेपाली काँग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उम्मेदवार खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि जनही रु १५ हजार उपलब्ध गराएका थिए । यस विषयमा सञ्चारमाध्यमबाट समाचार सार्वजनिक भएपछि आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।

खतिवडा र बानियाँलाई आयोगले सोधेको छ “तपाईंबाट आफ्नो क्षेत्रका मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? यदि तपाईँबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारवाही हुनुनपर्ने हो ?”

आयोगले दुबै उम्मेदवारलाई पत्र प्राप्त भएको २४ घन्टाभित्र आयोग वा आफू उम्मेवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैं उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ (न) मा “कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदाफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने भनी उल्लेख  छ ।

सम्बन्धित समाचार 

१५/१५ हजारको नोट, खतिवडा र बानियाँ किन्दैछन् भोट