हेटौंडा – हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाका साथै यी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।