काठमाडौं – बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा काठमाडौं टोखा नगरपालिका–२६ नयाँबसपार्कस्थित निमा गेष्ट हाउसका संचालक नुवाकोट तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय सुजन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सुजनले उक्त गेष्ट हाउसमा बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै आर्थिक प्रलोभनमा पारी बेश्याबृत्तिमा लगाएको, एक महिनासम्म गेष्टहाउसबाट बाहिर समेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबजरस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।