प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

२०७९ फाल्गुन २४, बुधबार १२:४४ बजे

हेटौंडा – धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१७ हटियास्थित कठायत चोकमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  

बुधबार बिहान हेटौंडाबाट ठुलोदमारतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३–०५ प ७११ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भम्जन र स्कुटर चालक नुवाकोट ककनि नगरपालिका–४ बस्ने २८ बर्षीया जिना लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार भम्जनको अस्पताल ल्याउन साथ डाक्टर मृत घोषणा गरेको र लामाको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार हेटौंडा उपमहानगरपालिका–१८ रामधुनि बस्ने १६ वर्षीय सुजन घलान र स्कुटर पछाडि सवार बागमती गाउँपालिका–८ शान्तिपुर बस्ने २४ वर्षीया ललिता थापा मगर घाइते भएका छन् । घलानको हेटौडा सरकारी अस्पताल र मगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता कार्कीले बताए ।