हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका भित्रका विद्यालयहरुमा दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्न खाजा बनाउन संलग्न कर्मचारीहरुलाई परिकार बनाउने तालिम प्रदान गरिएको छ ।
विद्यालयमा खाजाको रुपमा पकाउन सकिने परिकारहरु कोदो र फापरको हलुवा, नमकिन, फुलौरा पकाउन सिकाइएको मकवानपुरगढी गाउँपालिका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । तालिम पश्चात उक्त विद्यालयहरुमा हप्ताको एक दिन रैथानेबालीको परिकार खुवाउन शुरुवात गरिने उनले बताए।
पहिलो चरणमा वडा न १, २, ३, ४ र ६ का गरि १५ वटा विद्यालयका खाजा बनाउने कर्मचारीहरुलाई तालिम प्रदान गरिएको चौधरीले बताए । यसअघि मकवानपुरगढीको कार्यपालिकाको बैठकले पालिकाभित्रका हरेक विद्यालयमा हप्ताको एक दिन विहिबार स्थानीय एवम् रैथानेबाली परिकार विद्यालय दिवा खाजामा समावेश गर्ने निर्णय गरेको थियो ।