प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुनःबकैयाको बुद्ध माविलाई

२०७९ असार १९, आईतबार १४:०८ बजे

मकवानपुर – १२ औँ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको बुद्ध माविले जितेको छ । हेटौंडा उपमहानगरपालिकाको हुप्राचौरमा भएको प्रतियोगितामा १६ पदक हात पार्दै बुद्ध माविले उपाधि जित्न सफल भएको हो । अघिल्लो बर्ष पनि बुद्धले नै शिल्ड जितेको थियो ।

प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण,३ रजत र ३ कास्य जितेको छ । यस्तै ५ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित जनकल्याण मावि थाहागरपालिकाले दोस्रो भएको छ भने ४ स्वर्ण,३ रजत र २ कास्य सहित हेटौडाको जनप्रिय मावि तेस्रो भएको छ ।

प्रतियोगितामा एथलेटिक्स अन्तर्गत एक सय, दुई सय, तीन सय, चार सय, आठ सय, १५ सय र ३ हजार मिटर दौड,भलिभल, कराँते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटफूटलगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुर्वतर्फ खेलाइएको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ ।

उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बुद्धका आयुस नेगी, र करुणा पाख्रीन बालबोध मावि हेटौडा, भलिवलमा सुन्दरीदेवीका पुजन गुरुङ र जनकल्याणकी सविना रुम्वा,तथा कबड्डीमा जनपृयका निश्चल थापा तथा जनकल्याणकी कंचन घले भएका छन् ।

विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र साही,विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा जिल्लाको दश पालिका मध्ये ८ वटाको सहभागिता रहेको थियो । अब विजेता खेलाडीहरुले बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सहभागि जनाउन पाउनेछन्।प्रतियोगिता यही असार २५ गते देखि काठमाडौमा हुनेछ ।