हेटौंडा – सडकमा गुडिरहेको ट्रक घरमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना भने घाइते भएका छन् ।
पृथ्विराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५ आँधिखोलामा आज बिहान ना ४ ख १९ ७३ नम्बरको ट्रक सडक किनारमा रहेका घरमा ठोक्किँएको हो ।
डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।
मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं.१ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका छन् । उनीहरुको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त ट्रकले आज विहान सवा ९ बजे अनियन्त्रित भएर सडक छेउका २ वटा घरमा ठक्कर दिएको थियो ।