प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा वडाध्यक्षमाथि दोहोरिँदो आक्रमण, नगरपालिकाद्वारा एकदिन सेवा बन्दको घोषणा

२०८२ असार १९, बिहीबार १९:५४ बजे

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षहरूमाथि आक्रमणका घटना दोहोरिन थालेका छन्, जसले स्थानीय तहमा जनप्रतिनिधिको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।

असार ४ गते वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको घटना सेलाउन नपाउँदै, बिहीबार वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि पनि हातपात भएको छ। यो पटकको आक्रमण सडक निर्माणसँग जोडिएकी निर्माण व्यवसायी महिला मञ्जु लामाबाट भएको हो, जसले घटनालाई अझै संवेदनशील बनाएको छ।

सिग्देलमाथि हेटौंडा–४ मा हेटौंडा क्याम्पस अगाडि सडक विस्तारका विषयमा छलफल चलिरहेको बेला आक्रमण भएको हो। प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिकाकी मञ्जु लामाले वडाध्यक्षमाथि आक्रमण गरेकी हुन्।

प्रत्यक्षदर्शीका भनाइअनुसार वडाध्यक्ष धारणा राखिरहँदा मञ्जु लामाले भिडियो खिच्न थालेपछि सिग्देलले रोक्न आग्रह गरे, जसपछि विवाद चर्किएर हातपात भएको हो।

घटनापछि वडाध्यक्ष सिग्देलले यो योजनाबद्ध आक्रमण भएको दाबी गरेका छन्। प्रहरीले आक्रमणकारी भनिएकी मञ्जु लामालाई तत्काल नियन्त्रणमा लिएको छ।

यस घटनाको गम्भीरतालाई मध्यनजर गर्दै वडा कार्यालयले शुक्रबारका सबै कार्यक्रम रद्द गरेको छ भने उपमहानगरपालिकाले एक दिन सेवा बन्द गर्ने निर्णय गरेको छ।

नगरप्रमुख मीनाकुमारी लामाले पत्रकार सम्मेलनमार्फत जनप्रतिनिधिमाथिको सुरक्षा संकट गहिरिँदै गएको भन्दै प्रशासनलाई कडा सुरक्षा रणनीति अपनाउन चेतावनी दिएकी छन्।

यसअघि वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण गर्ने दोषी अझै पक्राउ नपरेको अवस्थामा पुनः अर्को वडाध्यक्षमाथि आक्रमण हुनुले प्रहरी प्रशासनको कार्यक्षमतामाथि समेत प्रश्न उठेको छ।

जनप्रतिनिधिहरूले आफूहरू सुरक्षित महसुस गर्न नसकेको गुनासो सार्वजनिक रूपमा गर्न थालेका छन्।